काठमाडौं– एक महिना रोजा सकिएपछि खुशी साट्ने पवका रुपमा मनाइने ईद पर्व स्लाम धर्मावलम्बीले सोमबार मनाउदैंछन् ।
इस्लामी पात्रो हिजरी संवत् अनुसार नवौं महिना रमजानल मुबारकमा विश्वभरका इस्लाम धर्मावलम्बी १ महिनासम्म रोजा बस्छन् । आजका दिन मस्जिद वा इदगाहमा भेला भई नमाज पढ्ने चलन पनि छ ।
इदको नमाजपछि आपसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदान–प्रदान गर्ने गरिन्छ । ईदको दिन बिहानै नुहाइ–धुवाइ, सफा र नयाँ कपडा लगाएर सेबई, फलफूल, बिरयानी वा अन्य मीठा परिकार खाएपछि नमाजका लागि मस्जिद वा इदगाह जाने चलन छ । नमाजपछि एक–अर्काका घरमा पाकेको मीठा परिकार खाने र शुभकामना आदान–प्रदान गर्ने चलन छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फितरको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व इदको शुभकामना दिएका छन् । उनले इतिहासको कालखण्डमा नेपाली मुस्लिम समुदायले देखाएको धार्मिक सहिष्णुता अनुकरणीय रहेको भन्दै प्रेम र सद्भाव आदानप्रदान गर्ने यो पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिलोस् भनेका छन ।
प्रधामनमन्त्री देउवाले संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुद बनाउन सबैलाई अभिप्रेरित बनाउन सकोस् भन्दै सबैमा इदको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली लगायतले इद पर्वले सवैमा सद्भाव कायम गर्न सफल रहोस भनेर शुभकामना दिएका छन् ।






