उपराष्ट्रपतिद्वारा सभामुखको स्वास्थ्यस्थितिबारे जानकारी

Onsariकाठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले आज सभामुख ओनसरी घर्तीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।

सभामुखलाई भेट्न उपराष्ट्रपति पुन ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल पुग्नुभएको हो । भेटमा उपराष्ट्रपतिले सभामुखको स्वास्थ्य लाभको कामना गर्नुभएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । सो अवसरमा सभामुख घर्तीले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी गराउनुभएको थियो ।

उच्च रक्तचाप, मधुमेह र पिनासको असर पढेपछि सभामुख घर्तीलाई आइतबार सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न डा डिवी कार्कीले सभामुखको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपराष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पनि सभामुख घर्तीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।