विराटनगर- नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्याएको बताएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारत र चीन दुवै नेपालका असल मित्र भएको भन्दै दुवै देशबीच राम्रो सम्बन्ध हुनु आवश्यक भएको उल्लेख गरेका छन् ।
उनले सीमांकनको विवाद सात प्रदेशमा नै खोज्नु पर्ने बताएका छन् । उनले प्रदेशको संख्या भन्दा भौगोलिक सीमांकनको समाधान राजनीतिक सहमतिबाट गरिनुपर्ने धारणा राखेका छन् । उनले नयाँ संविधानमा टेकेर पहिचानको पाँच आधार तथा सामर्थ्यको चार आधारलाई मानेर प्रदेशको संख्या र भौगोलिक सीमा मिलाउनुपर्ने बताए ।
नयाँ संविधान जारी भइसकेको अवस्थामा अब विकास र समृद्धिमा मुलुकलाई अगाडि वढाउन सबै दल लाग्नु पर्ने उनले बताए । उनले सरकार ढाल्ने र गिराउने खेलमा लाग्ने भन्दा पनि संविधान कार्यान्वय गर्नेतर्फ दलहरु लाग्नुपर्ने बताए ।
विगत अढाई दशकसम्म सरकार गिराउने फोहरी खेलमा लागेकै कारण मुलुकले गति लिन नसकेको उल्लेख गर्दै उनले विकास र सुशासनलाई मुख्य एजेण्डा मानेर राजनीतिक दलहरू अघि बढनुपर्ने बताए ।
प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धीपूर्ण: भट्टराई






