नक्कली शैक्षिक प्रमाणपत्रधारी २ जना डाक्टर पक्राउ 

doctorकाठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्रधारी थप २ जना डाक्टरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट मतसरी–५ बस्ने ३१ वर्षीय राजिवकुमार झा र बारा बहुअरी–४ बस्ने २९ वर्षीय पृथ्वीनारायण यादव रहेका छन् ।

नक्कली प्रमाणपत्र पेश गरेर एमबिबिएस अध्ययन गरी चिकित्सा पेशा अपनाउनको लागि मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा दिन आएका झा र यादवलाई परीक्षा केन्द्रबाट पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्यूरोमा उपस्थित गराइएको हो ।

झाले सन् २००६ मा बिहार इन्टरमेडियट एजुकेशन काउन्सिलबाट दोस्रो डिभिजन ल्याएको प्रमाणपत्रमा फिजिक्स र केमेष्ट्री बिषयमा बढी नम्बर थप गरेको नक्कली प्रमाणपत्र पेश गरी सोही आधारमा चीनबाट एमबिबिएस अध्ययन गरी नेपालमा इन्टर्नशीप समेत गरेको र मेडिकल काउन्सिलमा चिकित्सिक दर्ता प्रमाणपत्र परीक्षामा १२ पटकसम्म फेल भएको खुल्न आएको छ ।

यसैगरी यादवले सन् २००६ मा बिहार इन्टरमेडियट एजुकेशन काउन्सिलबाट दोस्रो डिभिजन ल्याएकोमा सम्पूर्ण बिषयहरूमा नम्बर थप गरी पहिलो डिभिजन ल्याएको नक्कली प्रमाणपत्र पेश गरी सोही आधारमा चीनबाट एमबिबिएस अध्ययन गरी नेपालमा इन्टर्नशीप समेत गरेको र मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा १३ पटकसम्म फेल भएको खुल्न आएको छ ।

उनीहरुलाई ब्यूरोमा उपस्थित गराई नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा २६ र २७ बमोजिमको आवश्यक अनुसन्धान प्रक्रिया सुरू गरिएको छ ।