काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण फलदायी रहेको बताएका छन् ।
भारतकाे चार दिने भ्रमण सकेर आईतबार स्वदेश फर्केका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दिल्लीमा भारतीय प्रभानमन्त्री नरेन्द्र मोदी लगाएत अन्य मन्त्री तथा नेताहरुसँग महत्वपूर्ण भेटघाट भएको बताए ।
प्रचण्ड भारत सरकारको निमन्त्रणामा भदौ २१ गते दिल्ली प्रस्थान गरेका थिए । उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए ।
‘राष्ट्रको समग्र हित र दुवै देशका प्रधानन्त्रीको भ्रमण आदान प्रदानकाबीच भएका सहमति समझदारीहरुको कार्यान्वयनको निम्ती वातावरण बनाउने विषयमा छलफल भयो’ ।
दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै प्रचण्डले स्थिर सरकार र समृद्ध नेपाल भारतको पनि चाहना भएको पनि बताए ।
‘म भारत जाने बेलामा सवै नेपाली जनताको अघि भनेको थिए, नेपालमा धेरै वर्षपछि स्थिर सरकार बनेको छ । विकास निर्माणका कामलाई मुख्य रुपमा एजेण्डा बनाएर छलफल अगाडि बढाउने र सरकारले गरेका समझदारी कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्य मात्रै मेरो भ्रमणमा छ भनेर मैले भनेको थिए ।
त्यसैअनुसार छोटो समय भएपनि निकै व्यस्तताका बावजुत धेरै महत्वपूर्ण भेटघाट भए ।’
मन्त्री फेरबदलको चर्चा चलिरहेको प्रसङ्गमा प्रचण्डले भने ‘प्रधानमन्त्रीज्यूले जे भन्नु भएको छ त्यहीँ अधिकारिक हो’, उनले भने, ‘मैले फरक प्रसङ्गमा गल्ती गर्दा चाहिँ मन्त्रीलाई कारबाही हुन्छ भनेको थिए ।’






