लण्डन । गुल्मी जिल्ला समाज यूकेले आउंदो मे महिनाको १ तारिखका लागि निर्धारित आफनो पांचौं अधिवेसनको तयारी तिब्र बनाएको छ । आइतबार लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा अधिवेसन तयारी बैठक सम्पन्न भएको छ।
समाजका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा सम्पन्न बैठकले नयां कार्यसमिति चयनका लागि समाजका सल्लाहकार मिन दर्लामीको संयोजकत्वमा पांच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । जसमा रणबहादुर केसी सहसंयोजक तथा यादव भण्डारी, चक्रबहादुर राना र राजन श्रेष्ठ सदस्य तोकिएका छन ।
आसन्न अधिवेसनले आउंदो तीन वर्षका लागि २१ सदस्यीय नयां कार्यसमिति चयन गर्नेछ ।
महासचिव राम गलामीले सञ्चालन गरेको सो बैठकमा आगामी अधिवेसनमा छलफलका लागि लगिने विभिन्न एजेण्डाहरुमा प्रारम्भिक छलफल गरिएको थियो । त्यसअवसरमा समाजका कोषाध्यक्ष टोप पल्लीले संस्थाको आय व्ययको एक पछिल्लो विवरण प्रस्तुत गरेका थिए । बैठकका सहभागीहरुलाई उपाध्यक्ष केशव भण्डारीले स्वागत मन्तव्य दिएका थिए ।
हालसालै नेपाल पुगेर समाजका विभिन्न कार्यक्रम पूरा गरी फर्किएका समाजका सल्लाहकार मोति भण्डारी, उपाध्यक्ष विनोद ज्ञवाली र सहकोषाध्यक्ष राजन खरेलले पनि ती कार्यक्रमबारे रिपोर्टिंग गरेका थिए ।
सल्लाहकार भण्डारीको संयोजकत्वमा समाजले गरेको सहयोगबाट रिडीमा सञ्चालन सुरु भएको सुचना सञ्जालबारे उनले बताएका थिए भने उपाध्यक्ष भण्डारीले विगत केहि वर्षदेखि समाजले सघाउंदै आएको तम्घासस्थित आशा अपांग केन्द्रलाई हस्तान्तरण गरिएको पछिल्लो सहयोगबारे जानकारी गराएका थिए । त्यस्तै सहकोषाध्यक्ष खरेलले दुवै कार्यक्रमका आर्थिक पक्षहरुबारे बैठकलाई जानकारी गराएका थिए ।![10400070_1580338692286845_3640181489426082861_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/03/10400070_1580338692286845_3640181489426082861_n1.jpg)
बैठकमा हालसालै गोर्खा च्यानलको मिडिया अवार्डबाट सम्मानित सल्लाहकार बालजंग अर्याल, नेपाल पत्रकार महासंघ बेलायतको उपाध्यक्षमा निर्वाचित ध्रुबराज अर्याल तथा सचिवमा निर्वाचित शिव भण्डारी, नेपाली साहित्य विकास परिषदका उपाध्यक्ष रेशम अर्याल, व्यवसायी राजु मल्ल लगायतलाई समाजका तर्फबाट अध्यक्ष गौतम र संस्थापक अध्यक्ष ओमप्रसाद थापाले खादा ओढाएर सम्मान गरेका थिए भने नेपाल पर्यटन बोर्डका प्रतिनिधी नियुक्त एभरेष्ट इनका निर्देशक पशुपति भण्डारीको प्रतिनिधीका रुपमा एभरेष्ट इनकै निर्देशक यादव भण्डारीलाई सम्मान गरिएको थियो ।
बैठकमा फडिन्द्र भट्टराई, रोमनाथ पाण्डे, खड्क रेश्मी, मञ्जु खरेल भण्डारी, राम सापकोटा, कृष्ण खरेल लगायतको पनि उपस्थिति थियो ।






