रुपन्देहीमा आगलागी, १२ घर जलेर नष्ट

ago

राम भण्डारी, बुटवल चैत ८

रुपन्देहीको मजगावा गाविसको डेबनबक्सापुर गाउँमा आगलागी भएको छ । गाविसका वडानम्बर ७ र ९ वडाका १२ वटा घर जलिसकेका छन् ।

वडानम्बर ९ स्थित केशचन्द्र धरिकारको घरमा खाना पकाउने क्रममा साँझ साढे पाँच बजेतिर आगो लागेको थियो । यद्यपी प्रहरीले पुरा अपडेट गराईसकेको छैन ।

आगोले वडानम्बर ९ का लल्लन धरिकार, चिन्गुद धरिकार, हरि धरिकार, रामु धरिकार, छोटु धरिकार, रघुनाथ कहार, राजबली कहार, रुदल कहार र सेतु अहिरका घर जलेका छन् ।

यसैगरी वडानम्बर ७ का रामशरण बनियाँ र मुरद यादवको घर पनि जलेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

भैरहवाबाट आएका २ वटा दमकलको सहयोगमा जनपद र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास जारी राखेका छन् । स्थानीय पनि आगो निभाउन खटिएका छन् ।

आगलागी भएको गाउँ भैरहवाबाट झण्डै बीस किलोमिटर दक्षिणतर्फ पर्दछ ।