स्याङ्जा- स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि चौथो क्षेत्रीय स्याङ्जा महोत्सव सुरु भएको छ ।
स्याङ्जा महोत्सवको आधार, पर्यटन तथा कृषि नै आर्थिक प्रगतिको पूर्वधार भन्ने मूलनाराका साथ बिहीबारदेखि ३० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सरकारको नीति नियमका कारण निजी क्षेत्रले खुलारुपमा काम गर्न नसकेको बताउनुभयो । तराईमा जारी आन्दोलनका कारण औद्योगिक क्षेत्र धरासायी बनेको र मुलुकको आर्थिक पाटो पनि घट्दो र निराशाजनक अवस्थामा पुगेकोमा अध्यक्ष मुरारकाले जोड दिनुभयो ।
कार्यक्रममा महासङ्घका उपाध्यक्ष दिनेशलाल श्रेष्ठ, पूर्व अध्यक्ष आनन्दराज मुल्मी, केन्द्रीय सदस्य दीपक लम्साल, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि ढकाल, मुक्तिनाथ विकास बैंकका कार्यकारी अधिकृत भरतराज ढकाल, व्यापार प्रवद्र्धन केन्द्रका निर्देशक ईश्वरी घिमिरेलगायतले समृद्ध स्याङ्जा निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो ।






