कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु हुँदै, नेताहरु भोट माग्न व्यस्त

congress-coventionकाठमाडौं- नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गतको बन्दसत्र आज सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा अपराह्न सुरु हुने बन्दसत्रमा पार्टीको नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।

त्यसअघि नेतृत्वका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने समय तोकिएको छ । पार्टी कार्यालय सानेपामा मनोनयन दर्ताका लागि नेताहरुको भीड बढ्दै गएको छ । वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा र चित्रलेखा यादवले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानलले आज उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

मनोनयन दर्ताका लागि दिउँसो १२ बजेसम्मको समय तोकिएको हो ।

मनोनयन दर्ता नहुँदै उम्मेदवारहरु मतदातालाई फकाउन व्यस्त भएका छन् । महाधिवेशन प्रतिनिधिहरु बसेको होटल तथा बन्दसत्र हुने ठाउँमा बिहानैदेखि चहलपहल बढेको छ । नेताहरुले छुट्टाछुट्टै समूहको भेला तथा बहस गरिरहेका छन् ।

कांग्रेसको आगामी नेतृत्वका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला प्यानलसहित दौडधूपमा व्यस्त छन् ।