काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अब पत्रमार्फत लिखित युद्ध सुरु भएको छ।
यसअघि पार्टीका बैठकहरु तथा दुई अध्यक्षबीचको छलफलमा मौखिक रुपमा द्वन्द्व हुने गरेको भए पनि पार्टीको विवाद पत्र युद्धमा परिणत भएको हो।
दुवै अध्यक्षले पत्र मार्फत एक अर्कालाई विभाजनकारी र उदण्डको संज्ञा दिँदै प्रत्युत्तर दिन थालेका छन् ।
सचिवालय बैठकको माग राखेर प्रचण्डले ओलीलाई पत्र बुझाएपछि दुई अध्यक्षबीच पत्र युद्धको सुरुवात भएको हो ।
प्रचण्डले सचिवालय बैठकको माग राखेर बुझाएको पत्र बुझेपछि अध्यक्ष ओलीले त्यसको जवाफ लिखित पत्रमार्फत नै दिएका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्डलाई सम्बोधन र सचिवालय बैठक माग गर्ने अन्य नेताहरुलाई बोधार्थ गरिएको उक्त पत्रमा ओलीले पार्टीमा संकट निम्त्याउने एक मात्र कारक प्रचण्ड रहेको आरोप लगाए ।
प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले तथ्यहरूको तोडमोड र झुटको खेती गरेको आरोप लगाएका छन्। ‘मन्त्रीमण्डलको पुनर्गठनको सन्दर्भमा उपप्रधानमन्त्री कमरेड ईश्वर पोखरेल र गृहमन्त्री कमरेड रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ? पेरिसडाँडामा बसेको सचिवालयको बैठकदेखि आजसम्म पनि मैले पार्टीलाई संकटबाट बचाएको कारण स्थायी समितिको बैठकपछि आम पार्टी पंक्ति र आमजनसमुदायमा पनि निकै सकारात्मक सन्देश गएको छ, अब मन्त्रीमण्डलकोव्यापक पुनर्गठन गरेर जाँदा राम्रो हुने मत राख्दै आएको छु,’ प्रचण्डले पत्रमा भनेका छन्, ‘त्यसो भनिरहँदा मैले सधैं नै तपाईंले आवश्यक ठानेका जिम्मेवार कमरेडहरूलाई भने निरन्तरता दिन उपयुक्त हुन्छ पनि भन्दै आएको छु। अझ तपाईंसँग धेरै पटक मुख्य रूपमा कमरेड ईश्वर पोख्रेल, कमरेड रामबहादुर थापा र
कमरेड प्रदीप ज्ञवालीका हकमा निरन्तरता दिनु पर्दछ भन्दै आएको र कमरेड रामबहादुर थापाको हकमा तपाईंसँग गत सालदेखि नै उपप्रधानमन्त्री बनाउनु पर्दछ भन्ने विचार राख्दै छु।’






