काठमाडौं- नेपाली काँग्रेसमा नयाँ नेतृत्वका लागि १ सय ६२ जनाको उम्मेद्वारी परेको छ।
निर्वाचन समितिले विहिवार विहान ८ बजेदेखि मनोनयनको समय तोकेकामा साँझसम्म सभापति र कोषाध्यक्षको पद्सहित १ सय ६२ जनाको उम्मेदवारी परेको हो।
सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाको मात्र उम्मेदवारी दर्ता भएको छ। यस्तै, कोषाध्यक्षमा देउवा प्यानलकै चित्रलेखा यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ।
देउवा प्यानलका महामन्त्रीका उम्मेदवारी अर्जुननरसिंह केसीले भने उम्मेदवारी दर्ता गराउनुभएको छैन। यस्तै, कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानलका उम्मेदवारीले पनि मनोनयन दर्ता नगराएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।
पहिलो दिन २५ जना खुला केन्द्रीय सदस्यका लागि ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुला केन्द्रीय सदस्यमा खुमबहादुर खड्काले पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका छन्।
महेश आचार्य, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा. प्रकाशशरण महत, प्रदिप गिरी, चन्द्र भण्डारी, प्रदिप पौडेल, एन पी साउद, तारानाथ रानाभाट, रमेश लेखक, मनमोहन भट्टराई, ज्ञानेन्द्रबहादुर कार्की, लक्ष्मणप्रसाद घिमिरे, डा. शेखर कोइराला, गोविन्दराज जोशी र विनयध्वज चन्दले खुलातर्फबाट उम्मेद्वारी दर्ता गराएका छन्।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेल, सांसद्हरु राजन केसी, रामहरि खतिवडा र बद्री पाण्डेले पनि खुलाबाटै उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै, एउटा प्रदेशबाट २ जनाका दरले केन्द्रीय सदस्य चयन गरिनेमा १ नम्बर प्रदेशमा ९, ३ नम्बर प्रदेशमा १० तथा ५ र ७ नम्बर प्रदेशमा ८/८ जनाको उम्मेद्वारी परेको छ। २, ४ र ६ नम्बर प्रदेशमा ३/३ जनाले मात्रै उम्मेद्वारी दर्ता गराएका छन्।
महिलातर्फको ६ सीटमा प्रतिमा गौतम, डा. डिला संग्रौला, पुष्पा भुषाल, अम्बिका बस्नेत, इश्वरी न्यौपाने लगायतका २२ जना महिला नेतृको उम्मेद्वारी परेको छ। निर्वाचन समितिले उम्मेद्वारी दर्ताको समय शुक्रबार अपरान्ह १२ बजेसम्म तोकेको छ।






