राजपालाई प्रधानमन्त्रीले सोधे : संशोधन प्रक्रियामा लैजान्छु, तपाईंहरु तयार हुनुहुन्छ ?

धनजन क्षति भएको आधारमा मधेसी तथा थारुलाई १२ करोड क्षतिपूर्ती
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच छलफल भएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल भएको थियो ।

बैठकमा व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई दुई तिहाई मतका साथ पारित गर्ने सन्दर्भमा पनि छलफल भएको थियो । सरकार र मोर्चाबीच जेठ ४ गतेभित्र संशोधन प्रस्ताव पारित गर्ने सहमति यसअघि नै भइसकेको छ ।

छलफलमा माग सम्बोधन गर्दै संविधान संशोधन गरि दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने बारे छलफल भएकोमा राजपाका नेताहरुले जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण गरि संविधान संशोधन गरेमा मात्र आफुहरु निर्वाचनमा सहभागी हुने पुरानै अडान दोहोर्याएका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषदबाट हुने काम चाडै गर्ने र ४ गते संविधान संशोधन पनि हुने कुरा राख्दै मोर्चालाई चुनावमा सहभागी हुने तयारी गर्न आग्रह गरेका थिए ।

तर, यसबारेमा सरकारबाट बाहिरिएको राप्रपा पनि पछिल्लो समय सकारात्मक देखिएको छैन । मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई पुनः राप्रपासँग छलफल गर्न सुझाव दिएका छन् ।

मोर्चाको कुरा सुनेपछि प्रधानमन्त्रीले संशोधन पारित गराउन मोर्चालाई पनि गम्भिर बन्न आग्रह गरेका छन् । ‘बहुतले पास हुन्छ कि हुँदैन भनेर तपाईंहरु पनि विचार गर्नुहोस्,’ प्रधानमन्त्रीले भने, ‘प्रक्रियामा लैजान भन्नुहुन्छ भने तुरुन्तै लगिदिन्छु । यसका लागि तपाईंहरू तयार हो कि होइन ?’

बैठकमा आन्दोलनका क्रममा घाइते र धनजन क्षति भएका मधेसी तथा थारु समूदायलाई क्षतिको आधारमा १२ करोड क्षतिपूर्ति दिने सहमति भएको छ ।

त्यसैगरी चुनाव चिन्ह उपलब्ध गराउने सम्बन्धमा पनि आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई भनेको छलफलमा सहभागी नेता अनिल कुमार झाले जानकारी दिए ।

बैठकमा राजपा नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरद शिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव संलग्न थिए ।