काठमाडौँ- काठमाडौंमा एक बालक दिनदहाडै अपहरणमा परेका छन् । अन्दाजी ७/८ वर्ष उमेरका बालक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्तर–पूर्वको तेजविनायक चोकबाट अपहरणमा परेको प्रहरीले जानकारी गराएको छ।
तर प्रहरीले अपहरण हुने बालकको नाम र पहिचान भने खुलाएको छैन। अहिले महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी, बौद्ध वृत्तका डिएसपी श्यामकुमार राई र बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्ले घटनास्थल पुगेको बुझिएको छ।
प्राप्त जानकारी अनुसार बालकलाई तेज विनायक स्कुल नजिकबाट तीन जनाको समूहले गाडीमा राखेर लागेका हुन्। अपहरणमा प्रयोग भएको गाडी खैरो रङको रहेको छ।
खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटेको छ। अपहरण भएका बालकको खोजि कार्यको लागि अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसरको टोली काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रहरी परिचालन गरिएको छ।






