कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

congresकाठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा आगामी महाधिवेशनको नीतिगत विषयमा छलफल केन्द्रित हुनेछ । पार्टीको विधान संशोधन, पार्टीका नीति तथा कार्यक्रमका विषयमा छलफल हुने केन्द्रीय सदस्य प्रकाश शरणमहतले जानकारी दिनुभयो ।

पार्टी सभापति सुशील कोइरालाको निधनपछि औपचारिकरुपमा पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टीको नीति तथा कार्यक्रम पेश गरेपछि त्यसमा छलफल हुनेछ । बैठकमा महाधिवेशनको तयारीका लागि गठन गरिएका समितिले आआफ्नो कार्यविवरण पनि पेश हुनेछन् ।

आनन्द ढुंगाना नेतृत्वको विधान समितिले केन्द्रीय समितिको आकार बढाउने व्यवस्थासहितको विधान संशोधनको प्रस्ताव पेश हुने र त्यसमाथि छलफल हुनेछ ।

कांग्रेस संस्थापन पक्षले केन्द्रीय समितिको आकारका साथै पदाधिकारीको संख्या बढाउनु पर्ने वताउँदै आएको छ भने देउवा पक्षधरले भने पदाधिकारी संख्या बढाउन नहुनेमा दबाब दिँदै आएको छ । बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा पनि छलफल हुनेछ ।