शिब भण्डारी ,
लन्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरु शनिवार एउटा सेमिनारमा सहभागी भए । नेपलिज नर्सिङ एसोसिएसन यूकेले अप्रिलदेखि लागू हुन लागेको नयां नियमको पूर्व सन्ध्यामा उक्त सेमिनार गरेको हो । प्रत्यक्ष सहभागितामुलक उक्त सेमिनारमा रिभ्यालिडेसन सम्वन्धमा थप ल्याउन लागिएको नयां नियमबारे चर्चा भयो ।
लन्डन नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा नर्सिङ एण्ड मिडवाइफ्री काउन्सिल (एनएमसी) रिभ्यालिडेसन र रोयल कलेज अफ नर्सिङबारे क्रिस्टिन म्याकेन्जीले प्रवचन दिएकी थिइन् । त्यसैगरि, डिमेनसिया एण्ड मेमोरी क्लिनिक्स्बारे नेपलिज डक्टर्स एसोसिएसन यूकेका पूर्व अध्यक्ष डा. अरुणकुमार झा, मेडिसिन अप्टिमाइजेसनबारे फार्मेसिस्ट रमेश फुंयाल र क्यान्सरबारे नर्सिङ एसोसिएसनकी पूर्व अध्यक्ष अजिता सिम्खडाले प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा नर्सहरुले विभिन्न जिज्ञासा राखेका थिए ।
नेपलिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष सुशिला कार्कीले नयां नियमले कयौं नेपाली नर्समा अन्यौल र चिन्तित बनाएकाले त्यसको निराकरणका लागि समयमै सेमिनार गरिएको जनाइन् । नयां नियम केही चिन्ताको विषय भएपनि यसले नर्सहरुलाई करिअरमा अप टु डेट हुन सघाउने कार्कीको धारणा थियो ।
सेमिनारमा उपाध्यक्ष प्रसुना कंडेल, महासचिव विनोदविकास सिम्खडा, कोषाध्यक्ष रश्मिता दर्लामी, पूर्व अध्यक्ष बासु लामिछाने लगायतले अग्रणी भूमिका निर्वाह गरेका थिए ।
उक्त कार्यक्रममा दिवा भोज प्रायोजन भिक्टोरिया केयर सेन्टरका महाप्रवन्धक बासु लामिछानेले गरेका थिए ।
https://youtu.be/dc_x-Qg9tGw









