काठमाडौं- आन्दोलनमा आफ्नो भूभागमा मेस चलाएर भोज खुवाउने भारतीय व्यापारीले मधेसी मोर्चाका कार्यकर्तालाई लखेटेका छन् ।
वीरगन्ज रक्सौल नाकामा अवरोध गर्न शनिबार दिउँसो मितेरी पुलमा पुगेका मधेसी दलका नेता र कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीय बासिन्दाले लखेटेका हुन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार दिउँसोदेखि खुलेको नाका शनिबार फेरि अवरुद्ध पार्ने निर्णय गरेको थियो । तर भारतीय व्यापारीले लखेटेपछि अबरोध भएन ।
मोर्चाको निर्णयअनुसार नाका अवरुद्ध पार्न तमलोपाका महामन्त्री जितेन्द्र सोनल र संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा गएको मोर्चाका करिब दुई दर्जन कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीयले कुटेर लखेटेका हुन् ।
नाका अवरुद्ध पार्न गएका मोर्चाका कार्यकर्ता र भारतीयबीच झडप पनि भएको थियो । झडपका क्रममा मोर्चाका तीन जना कार्यकर्ता घाइते भएका छन् ।






