प्रधानमन्त्रीसँग अधिकारकर्मीको भेट

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मानव अधिकारकर्मीहरुको टोलीले भेट गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शान्ति प्रक्रियाका सहजकर्ता एवं बरिष्ठ मानव अधिकारकर्मीहरु दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर र बिरेन्द्र मिश्रसहितको टोलीले भेट गरेको हो । भेटमा प्रधानमन्त्री र अधिकारकर्मीबीच शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय प्रणाली र सामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीले द्धन्द्धको व्यवस्थापन र सहजीकरणमा मानव अधिकारकर्मीले खेलेको भूमिकाप्रति आभार प्रकट गर्दै शान्ति प्रक्रियाका बाँकी काम र राजनीतिक सहकार्यको वातावरणका लागि क्रियाशील हुन अनुरोध गरेका थिए ।

त्यसैवीच प्रधानमन्त्री प्रचण्डसँग प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले भेट गरेका छन् ।

भेटमा प्रतिष्ठानका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणमा सहयोग गरी दिन आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले आफू प्राज्ञिक उनन्नयनको पक्षमा रहेको जानकारी गराउँदै सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।