एमालेलाई एकताबद्ध बनाउन नेताहरुको सुझाव

uml-new-officeकाठमाडौँ- नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको छैटौं बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले पार्टीलाई विधि, विधान र नीतिका आधारमा एकताबद्ध बनाई विद्यमान रानीतिक समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको प्रस्तुति सकिएपछि आफ्नो मन्तव्य दिँदै उहाँहरुले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने तथा आपसी परामर्श बढाई सरकार र पार्टीबीचको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य सावित्रा भुसालका अनुसार आजको बैठकमा स्थायी कमिटीका सदस्य सुवास नेम्बाङले तत्कालीन संविधानसभाका करिब ९० प्रतिशत सदस्यले स्विकारिसकेको नयाँ संविधान कार्यान्वयनमा पार्टी र सरकार क्रियाशील हुनुपर्ने बताउनुभएको थियो ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) संविधानपछिको वर्तमान सरकारमा सहभागी भएकाले उसले पनि संविधान मानेको ठहर्ने तर्क नेम्बाङको थियो । बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पनि राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्नुभएको थियो ।

समूहगत प्रस्तुतिमाथि आएका सुझाव र वरिष्ठ नेताका धारणाको अध्यक्ष ओलीले शुक्रबारको बैठकमा प्रत्युत्तर दिएपछि सो प्रतिवेदन पारित हुनेछ । गत चैत २७ गतेदेखि जारी बैठकका लागि स्थायी कमिटीका निर्णय अनुमोदन, पार्टी विभागमा मनोनयन, पार्टीका विभिन्न आयोगका प्रतिवेदन, पार्टी विधानमा बाधा अड्काउ फुकाउ गरी सङ्घीय संरचनाको सङ्गठन निर्माण, मदन नगर, बल्खुमा केन्द्रीय कार्यालय भवन निर्माण र समसामयिक राजनीतिक प्रस्ताव लगायत कार्यसूची छन् ।

पार्टीको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।