दशैंमा दुर्घटना कम गर्न इमाडोल र बाडेगाउँमा पहिलोपल्ट ट्राफिक प्रहरी

ललितपुर – दशैंलाई मध्यनजर गर्दै सवारी दुर्घटना र ट्राफिक नियम पालना गराउने उद्देश्यले ललितपुरको व्यस्त सडक पहिलोपल्ट इमाडोल र बाडेगाउँमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा ट्राफिक प्रहरी खटाइएको छ ।

सवारीको चाप र मान्छेको बाक्लो बस्ती विस्तार भएकाले त्यो ठाउँमा दैनिक सवारी दुर्घटना हुने गथ्र्यो । बाडेगाउँमा कार्यरत ट्राफिक प्रहरीले गोदावरीसम्म र इमाडोलमा कार्यरत ट्राफिक प्रहरीले लुभु क्षेत्रसम्म हेर्ने छ ।

मोटरसाइकलमा तीन÷चार जनासम्म चढ्ने, हेल्मेट नलगाउने, तीव्र गती तथा सवारी चालक अनुमति पत्र नभएको व्यक्तिले पनि सवारी चलाउने, सडकमै ट्राफिक जाम हुने गरी पार्किङ गर्ने, माइक्रोबस, मिनिबसमा यात्रुलाई छतमा राखी यात्रा गराउने, यात्रुलाई बढी पैसा लिने, माइक्रोबसहरु गन्तव्य स्थानमा नपुर्याई बीचमै मान्छे झारी फर्कने, सहचालकले पनि गाडी चलाउनेजस्ता कार्यलाई निर्मूल पार्न ट्राफिक प्रहरी खटाइएको ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

बाडेगाउँ तथा इमाडोलको क्षेत्रमा ट्राफिक प्रहरी छैन भनेर मापसे गरेर धेरै दुर्घटना हुनेलाई पनि नियन्त्रण गर्न ट्राफिक प्रहरी परिचालन गरिने र उक्त ठाउँमा ट्राफिक प्रहरी स्थायी रुपमा नै स्थानीय प्रहरीसँग समन्वय गरेर राखिने उनले बताए ।