पाँचथर- फिदिममा जारी पूर्वाञ्चलस्तरीय सातौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा चर्च ब्वाइज यूनाइटेड काठमान्डौँ प्रवेश गरेको छ ।
आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ पूर्वाञ्चललाई ३–० को फराकिलो गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको हो । ब्वाइजका लागि यालसाङ लामा, रोहित गुरुङ र निशान लिम्वूले क्रमशः १४ अौँ, ५४ औँ र खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।
।
प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा भारतको काम्ब्राङ स्पोर्टिङ क्लव सिक्किम र कर्णसिङ सोनाम मेमोरीयल क्लव ताप्लेजुङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल र भारतका गरी आठ टोली सहभागी प्रतियोगिताका विजेताले रु एक लाख ११ हजार १११ र उपविजेताले रु ५५ हजार ५५५ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगिताको अन्तिम खेल आगामी माघ २ गते हुनेछ ।






