ठाकुर किन गए कोइराला निवासमा ?

sushilकाठमाडौं- कांग्रेस सभापति सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा उहाँहरुले मधेसी मोर्चाका मागका बारेमा छलफल गर्नुभएको थियो । केही दिनअघि उपचारका लागि भारत जानुभएका ठाकुर स्वदेश फर्किएपछि पहिलोपटक सभापति कोइरालालाई भेट्नुभएको हो ।

लामो समयदेखि प्रमुख दल र मधेसी मोर्चाका नेताबीचमा भएको संवादहीनतालाई अन्त्य गरी फेरि वार्तालाई अगाडि बढाउन सभापति कोइरालाले जोड दिनुभएको कोइरालाका सहयोगी अतुल कोइरालाले जानकारी दिनुभयो ।

त्यसैगरी, संविधान संशोधनबाट केही माग पूरा भइसकेकाले बाँकी मागलाई विस्तारै सम्बोधन गर्दै जान सकिने भएकाले अहिलेलाई आन्दोलन फिर्ता लिन पनि सभापति कोइरालाले अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको थियो ।

जवाफमा अध्यक्ष ठाकुरले संशोधनबाट मुख्यमुख्य माग नै सम्बोधन नभएकाले आन्दोलन फिर्ता लिने अवस्था नरहेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्नेबारेमा भने मोर्चामा छलफल भइरहेको जानकारी दिनुभएको थियो ।