गुल्मीमा क्लोथ बैंक, कपडा नसक्नेलाई सहयोग गरिने

cloth bankगुल्मी- गुल्मीमा कपडा किन्न नसक्नेका लागि क्लोथ बैंक अर्थात् कपडा घरको स्थापना गरिएको छ । विभिन्न समयमा विपदमा परेका तथा गरिबीका कारणले लुगा किनेर लगाउन नसक्नेका लागि क्लोथ बैंकको स्थापना गरिएको हो ।

बैंकमा जम्मा भएका कपडा असहायलाई वितरण गरिनेछ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा गुल्मी उद्योग वाणिज्य सङ्घको मातहतमा रहने गरी सङ्घको कार्यालयमा क्लोथ बैंक उपसमिति गठन गरेर बैंकको सुरुवात गरिएको हो ।

गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव तारा भुसालले गरिबीका कारणले कपडा किन्न नसक्नेका लागि न्यानो बाँड्ने उद्देश्यले बैंकको स्थापना गरिएको बताउनुभयो । गरिब असहायलाई बाँड्ने र दाताबाट सङ्कलन गर्ने गरी बैंकको स्थापना भएको भन्दै उहाँले भन्नुभयो, “क्लोथ बैंकमा अहिलेसम्म रु ९३ हजार नगद र केही कपडा जम्मा भइसकेको छ ।”

“विकसित देशमा यो पुरानो कुरा भए पनि नेपालजस्तो देशका लागि यो एकदमै प्रभावकारी सहयोगको कार्यक्रम हो”, उहाँले भन्नुभयो । कपडा सहयोग गर्ने क्रममा थोत्रा लुगा सहयोग हुन सक्ने भएकाले बैंकमा पुराना लुगा भने सङ्कलन गरिने छैन । यसै हप्तादेखि बैंकले कपडा बाँड्न सुरु गर्नेसमेत जनाएको छ ।