‘धौलागिरिमा लोडसेडिङ नगर’

loadshedingपर्वत- पटकपटक भइरहेको अघोषित विद्युत्भार कटौतीका कारण व्यापार–व्यवसाय चौपट बनेको भन्दै धौलागिरिमा विद्युत्भार कटौती नगर्न व्यवसायीले माग गरेका छन् ।

पर्वत सदरमुकाम कुश्माबजारमा मङ्गलबार सम्पन्न तीन जिल्लाका व्यवसायी र विद्युत् प्राधिकरणका प्रमुख तथा मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख बीचकोे भेलामा व्यवसायीले अघोषित रुपमा विद्युत्को कटौती नगर्न र यदि गर्नै परेमा निश्चित समयावधि तोकेर गर्न आग्रह गरेका छन् । पटकपटक हुने विद्युत् कटौतीले भूकम्प र नाकाबन्दीले थलिएको व्यापार–व्यवसाय र उद्योगधन्दा झनै धरासायी बन्दै गएकाले धौलागिरि अञ्चलभित्र विद्युत्भार कटौती नगर्न उनीहरुले माग गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका धौलागिरि अञ्चल प्रतिनिधि निर्माणकुमार श्रेष्ठले धेरै समय जाने लाइनका कारण व्यापार–व्यवसाय तथा उद्योग नै बन्द गर्नुपर्ने अवस्था रहेको भन्दै धौलागिरि अञ्चलभित्र उत्पादित विद्युत्लाई स्थानीयस्तरमै प्राथमिकता दिन आग्रह गर्नुभयो ।