
काठमाडौं- सभामुख ओनसरी घर्तीको निश्पक्ष भूमिकालाई लिएर कांग्रेसले प्रश्न उठाएको छ ।
प्रमुख प्रतिपक्ष कांग्रेसले आफ्ना नेतालाई संसदमा बोल्न नदिएको बिषयलाई लिएर सभामुखको निष्पक्ष भूमिका माथि प्रश्न उठाएको छ । संसदीय परम्पराविपरीत प्रतिपक्षी दललाई पहिला बोल्न नदिएको भन्दै कांग्रेस नेताहरुले सभामुख घर्तीको भूमिकालाई लिएर पहिलोपटक आलोचना गरेका हुन् ।
सभामुख घर्तीले बिहीबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसभन्दा अघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि विवाद भएको हो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आफूहरुले बोल्न पाउनु पर्ने माग राख्दै उठेका थिए । तर, सभामुख घर्तीले यादवलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले होहल्ला गरी बैठक चल्न दिएनन्।
यादवपछि बोल्न दिइने भन्दै सभामुख घर्तीले बारम्बार कांग्रेस सांसदहरुको ध्यानाकर्षण गराउने प्रयास गरे पनि प्रतिपक्षले पहिला बोल्न पाउनु पर्ने अडान छाडेनन् ।
कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संसदमा बोल्नका लागि सांसद विमलेन्द्र निधिको नाम टिपाएका थिए ।
फोरम अध्यक्ष यादवले पनि आफूलाई बोल्न नदिएर कांग्रेसले असली चरित्र देखाएको आरोप लगाएका छन् ।
सभामुख घर्तीले कांग्रेस प्रमुख सचेतक श्रेष्ठले यादवलाई बोल्न दिन सहमति जनाएकाले पहिला समय दिएको बताइन् ।






