काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य ठीक रहेको र अब छिट्टै मुलुकको वर्तमान समस्या पनि समाधान हुने बताएका छन् ।
संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई आज स्वदेश फर्केका सभापति कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई लागेको क्यान्सर रोग पूर्णरुपमा निको भएको र मुलुकको वर्तमान समस्या पनि वार्ता र सहमतिका माध्यमबाट छिट्टै समाधान हुने बताए ।
सभापति कोइरालाले आफूलाई जिब्रो र फोक्सोमा क्यान्सर भएको र चिकित्सकले चार÷चार महिनामा ‘फलोअप’का लागि बोलाएको भए पनि आफू एक वर्षमा जाँदा पनि चिकित्सक पूर्णतया निको भएको (क्लिन चिट) भनी खुसी व्यक्त गरे ।
तराई–मधेसमा भइरहेको आन्दोलनको माग समाधानका लागि आफू नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको जानकारी गराउँदै उनले भने, “संशोधनको प्रक्रिया अघि बढे आन्दोलनको माग सम्बोधन हुन्छ, यसमा सबै लाग्नुपर्छ ।”
मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामाथि कुनै पनि किसिमको खतरामा हुन नहुने भन्दै सभापति कोइरालाले आन्दोलनरत दललाई पनि आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरे । उनले मधेसमा उठेका मागलाई पूर्णरुपमा बेवास्ता गरेर अघि बढ्न पनि नसकिने विचार व्यक्त गरे ।






