२३ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि उचाल्दा…

कुमार चौलागाई/मुना कार्की

Nepal-win-Bangabandhu-Gold-Cupकाठमाडौँ- सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेको तेइस वर्षपछि नेपालले शुक्रबार बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ बङ्गलादेशमा बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । नेपालको जितमा चौथो मिनेटमै स्ट्राइकर विमल घर्ती मगरले विराज महर्जनको क्रसमा अञ्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

त्यस्तै खेलको ८७ औं मिनेटमा विशाल राईले अञ्जनको पासमा गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै नेपालको जित निश्चित पारे ।

खेल समापनपछि आयोजित समारोहमा विजेता तथा उपविजेता टोलीलाई बङ्गादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलगायत खेल पदाधिकारीले ट्रफी तथा पदक प्रदान गर्दै वाजेदले हिमालको देश नेपालले उपाधि जितेकामा बधाई तथा शुभकामना दिनुभयो । उपाधि विजेता नेपाल ट्रफीसहित ५० हजार अमेरिकी डलर प्राप्त गर्न सफल भयो ।

प्रतियोगिताको फाइनलमा विमल ‘म्यान अफ द म्याच’ घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट तथा ‘हाइ स्कोरर”को उपाधि नवयुग श्रेष्ठले प्राप्त गरे । नवयुगले प्रतियोगितामा ह्याट्रिकसहित चार गोल गरेका थिए ।

प्रतियोगिताको प्रत्येक खेलमा अपराजित नेपालले आठ गोल गर्न सफल भयो भने एक गोल मात्र खाएको थियो । सेमिफाइनल लक्ष्यसाथ बङ्गलादेश यात्रामा निस्केको नेपाल प्रतियोगिताको अन्तिम खेलमा आइपुग्दा उपाधिमाथि नै कब्जा जमाउन सफल भयो ।

प्रतियोगितामा सहभागी हुनुअघि काठमाडौँमा आयोजित पत्रकार सम्मेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपालको लक्ष्य सेमिफाइनसम्म मात्र भएको बताएका थिए । बङ्गबन्धु खेल्नु दुई साताअघि मात्र नेपाली टोली भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा लज्जाजनक रूपमा पहिलो चरणबाटै बाहिरिएको थियो, जहाँ नेपाल श्रीलङ्का र भारतसँग पराजित भएको थियो ।