चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

काठमाडौं । चीनले राष्ट्रपति सी जिनपिङले नेपालको राजकीय भ्रमण गर्ने औपचारिक घोषणा गरेको छ । आज बुधबार चिनिया विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले आगामी शनिवार र आइतबार नेपालको भ्रमण गर्ने जानकारी दिएका हुन् ।

चीनका राष्ट्रपतिले २३ वर्षपछि नेपालको भ्रमण गर्न लागेका हुन । सी जिनपिङ राष्ट्रपति भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । राष्ट्रपति सीले दुई दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ । भ्रमणका क्रममा दुईपक्षीय हितका विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति सीले भारतको तमिलनाडु राज्यको चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक बैठकपछि नेपालको राजकीय भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ती प्रकाशित गरी आगामी शनिवार सी नेपालको राजकीय भ्रमणमा आउने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *