काठमाडौँ- नेपालको पर्यटन प्रबर्द्धन र हस्तकलासहितका सामग्रीको बजार प्रबर्द्धनगर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् ।
यही माघ ७ देखि ११ गतेसम्म हुने सो मेलामा नेपालका आठ पर्यटन व्यवसायी पहिलो पटक सहभागी हुन लागेका हुन् । चौध देशका व्यवसायी सहभागी हुने सो मेलामा रहने हजारमध्ये चार कक्षमा नेपालमा उत्पादित वस्तु र पर्यटन प्रबर्द्धनका सामग्री रहनेछन् ।
ताइवानको नयाँ वर्षका अवसरमा प्रत्येक वर्ष हुने सो मेलामा पस्मिना, मिथिला कला, थाङ्का, चिया, कफी, अदुवा र बेसारका धुलो सहितका नेपालमा उत्पादित सामग्री मेलामा राखिने एभरेस्ट यार्ड एक्सपोर्ट नेपालका टङ्कबहादुर पुरीले बताउनुभयो ।
मेलामा सहभागिताका लागि ताइवानबाट नेपाल आएर पर्यटन व्यवसायमा संलग्न ह्याप्पी बबल क्याफेका प्रबन्धक निर्देशक एवम गाइड बुक लेखक वे जु वेले नेपालमा उत्पादित वस्तुको बजारीकरण र नेपालको पर्यटन प्रबर्द्धनमा यो सहभागिताले महत्वपूर्ण योगदान पु¥याउने राससलाई बताउनुभयो ।






