सुष्माको भनाइ गलत : महत

Ramsaranनयाँदिल्ली- पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले सोमबारको राज्यसभा बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राखेको नेपालको नागरिकतासम्बन्धी प्रावधानमा गलत व्याख्या गरिएको बताएका छन्।

निजी काममा दिल्ली भ्रमणमा आएका महतले ‘वैवाहिक अंगीकृत नागरिकता’ बारेको व्यवस्थामा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा नेपालको अंगीकृत नागरिकता लिन सक्ने व्यवस्था रहेको बताए। ‘यहाँ धेरै तहमा भ्रम फैलाउने काम भएको छ,’ महतले भने, ‘भारतीय कंग्रेसका वरिष्ठ नेता करण सिंहसमेतले नागरिकताका बारेमा यस्तै अन्योलको कुरा सुनाएपछि म अचम्मित भएँ।’ महतले अन्तर्राष्ट्रिय व्यापार र पारवहनको मामिलालाई नेपालको आन्तरिक राजनीतिमा जोड्न नमिल्ने बताए।

मंगलबार साँझ नेपाली दूतावासमा आयोजित समारोहमा नेपाल सरोकारमा चासो राख्ने मणिशंकर अय्यर, तरुण विजय, केसी त्यागी, डीपी त्रिपाठी, डी राजासहितको उपस्थिति थियो। महतले भने नेपाल मामिलाका शुभेच्छुक कांग्रेस आईका करण सिंह र भारतीय जनता पार्टीका भगतसिंह कोसियारीलाई निजी निवासमा गएर भेटवार्ता गरेका थिए।