एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि शुक्रबार गर्नुभएको सार्वजनिक आह्वानलाई सकारात्मक रुपमा लिँदै सार्थक संवादको सुरु गर्न सत्तारुढ दलसँग आग्रह गरेको छ । एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्री कोइरालाको आह्वान सकारात्मक भए पनि सार्थक वार्ताको पहल सुरु गर्न वातावरण नबनेकामा आपत्ति प्रकट गरेको छ ।
सार्थक वार्ताका लागि सत्तारुढ दलका तर्फबाट जुन प्रकारको चासो र तत्परता हुनुपर्ने थियो, त्यसो हुन नसकेको निष्कर्ष निकाल्दै बैठकले आफूहरु संवादका माध्यमबाटै प्रक्रिया अगाडि बढोस् भन्ने पक्षमा रहेको पुनः दोहो¥याएको छ ।
वार्ता र संवादका माध्यमबाटै विगतका सहमति र सम्झौताका आधारमा संविधान लेखन प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन आफूहरु तयार रहेको भए पनि माघ ११ गतेको बहुमतीय प्रक्रिया र त्यसले मुलुकलाई दुई ध्रुवमा विभक्त गरेको तथ्यलाई नेपाली काँग्रेस र नेकपा (एमाले)ले बुझ्न नसकेको बैठकले ठहर गरेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । बैठकले औपचारिक तथा अनौपचारिक रुपमा कुनै न कुनै माध्यमबाट वार्ताको प्रक्रिया सुरु गर्न र संविधानका विवादित विषयमा सहमति खोज्न आग्रहसमेत गरेको छ । प्रधानमन्त्रीको तर्फबाट वार्ताका लागि दुईपटक आह्वान हुनुलाई सकारात्मक रुपमा लिएको छ, यही सकारात्मक वातावरणलाई थप परिणाममुखी र सार्थक बनाउन सबै पक्ष तत्पर र जागरुक हुनुपर्नेमा जोड दिइएको प्रवक्ता सिंहको भनाइ छ ।
मोर्चामा आबद्ध दलहरु संवादका लागि तयार रहँदासमेत काँग्रेस र एमालेको तर्फबाट त्यसखालको तत्परता नदेखाउनुले उनीहरु विगतको सहमतिलाई कार्यान्वयन गर्ने पक्षमा छैनन् भन्ने देखिएको निष्कर्ष निकाल्दै बैठकले आन्दोलनका कार्यक्रमलाई थप परिणाममुखी बनाउने बताएको छ । बैठकमा हालसम्मको आन्दोलनको तयारीका बारेमा विचार विमर्श भएको जानकारी दिँदै प्रवक्ता सिंहले गाउँ तहसम्म नेता तथा कार्यकर्तालाई परिचालन गर्न प्रयत्न गर्ने जनाएको छ ।
वार्ताको वातावरण बन्न नसकेको मोर्चाको ठहर






