बेलायत आइपुग्यो नेपाली नर्सको पहिलो टोली

लन्डन । बेलायत सरकार र नेपाल सरकारबीच भएको संझौता बमोजिम नेपाली नर्सको पहिलो टोली बेलायत आईपुगेको छ।

बेलायतस्थित हेम्प्सायर अस्पतालका उच्च अधिकारीहरुले नेपाली नर्सहरुलाई स्बागत गरेका थिए । यस अघि बेलायत प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयका उच्च अधिकारीले नेपाली नर्सको बिदाई गरेका थिए।

पहिलो चरणमा ८ जना नेपाली नर्स बेलायत आईपुगेका हुन । नेपाल सरकार र बेलायत सरकारबीच नेपाली नर्सलाई बेलायतका अस्पतालमा सेवा गर्ने सम्वन्धी संझौता भएपछी पहिलो पटक नेपाली नर्स रोजगारीका लागि जी टु जी पद्ती मार्फत बेलायत आएका हुन । यसरी बेलायत आउने नेपाली नर्सहरुको पारीश्रमिक र अन्य सुबिधा बेलायती नागरिक सरह नै हुने छ।

पहिलो चरणमा १ सय नेपाली नर्सका लागि आवेदन मागिएपनि जम्मा ४२ जना छनौट भएका थिए । ती मघ्ये ८ जना लाई पहिलो चरणमा बेलायत ल्याईएको छ भने बांकी मार्च भित्र बेलायत आइपुग्ने नेपालस्थित श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयका उपसचिव डम्वर सुनारले जानकारी दिए।

बेलायत आइपुगेकी नर्स अल्पना अधिकारीले आफुले बेलायतको स्वास्थ्य प्रणाली मा आबघ्द भएर सेवा गर्न पाउदा नया अनुभव प्राप्त हुने अवसर मिलेको बताइन ।बेलायत आएका नेपाली नर्सहरुले बेलायतस्थित हेम्प्सायर अस्पतालमा काम गर्ने छन ।

बेलायत आएका नर्सले सातामा साढे ३७ घन्टा काम गर्नुपर्नेछ भने वार्षिक २७ दिन बिदा पाउनेछन् । त्यस्तै, बेलायतले सरकारीस्तरमा दिएकोे सार्वजनिक बिदासमेत नेपाली नर्सहरूले उपयोग गर्न पाउनेछन् ।