गुलरिया (बर्दिया)- महिलाहरु मानसिक रोगीको सिकार बन्दै गइरहेका छन् । ।
जीवनका सामान्य तनाव सहन गर्न नसकी मानसिक रुपमा अस्वस्थ हुने क्रम बढेसँगै महिला मानसिक रोगीको सङ्ख्या बढ्दै गएको हो । बर्दियामा हालसम्म ८३ महिला र २५ पुरुष मानसिक रोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वृषबहादुर शाहीले बताउनुभयो ।
विशेष गरी दिक्दारीपन, चिन्ता, मानसिक असन्तुलन, छारेरोग, मद्यपानको समस्या, निद्रासम्बन्धी समस्या, विकृत तनाव, यौनजन्य मानसिक समस्या, टाउकामा चोटपटक, वंशानुगत गुणलगायत कारणले मानसिक समस्या देखिने उहाँको भनाइ छ । विश्वमा करिब ४५ करोड मानिस मानसिक रोगको समस्यामा रहेको बताइन्छ ।
सीएमसी नेपालले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र स्थापना गरी मानसिक रोगका सम्बन्धमा विभिन्न काम गर्दै आएको संस्थाका संयोजक राजेशकुमार झाले बताउनुभयो । उहाँले ९० प्रतिशत आत्महत्याको कारण मानसिक रोग भएको प्रस्ट पार्नुभयो ।






