काठमाडौँ- प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको आजको वार्ता बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलको बैठकपछि बसेको कार्यदलको बैठकमा आइतबार नै उठेका केही विषयमा सामान्य छलफल भए पनि अन्य विषयमा कुनै कुराकानी नै हुन नसकेको जनाइएको छ ।
कार्यदलका सदस्य एवम् सङ्घीय समाजवादी फोरम नेपालका नेता डा मङ्गलसिद्धी मानन्धरका अनुसार कार्यदलको बैठकमा आज खासै छलफल हुन सकेन ।
प्रमुख तीन दलका तर्फबाट शीर्ष नेतृत्व तहमा नै छलफल जारी रहेको विचार व्यक्त भएको भन्दै उहाँले वार्ता परिणाममुखी बनाउनेतर्फ भन्दा अल्मल्याउने ढङ्गले प्रस्तुत भएको आरोप लगाउनुभयो ।
मोर्चाले आइतबारको बैठकमा सहमतिको आधार भन्दै छबुँदे प्रस्ताव पेस गरेको थियो । सोही प्रस्तावमाथि आजै शीर्ष नेतृत्वले छलफल गरेको थियो ।






