तीन दल-मोर्चा वार्ता झन् भाँडिदै

Trio-Bartaकाठमाडौं- तीन दल र मधेसी मोर्चाबीच हुने भनिएको सहमति झन् टाढिंदै गएको छ । बल्लबल्ल सुरु भएको वार्ता भाँडिने अवस्थामा पुगेको छ ।

सोमबार अपराह्न बालुवाटारस्थित निवासमा प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग झन्डै २ घण्टा परामर्श गरे ।

बैठकमा एमालेले मधेसमा दुई प्रदेश हुनेगरी अहिल्यै सीमांकन हुने प्रतिबद्धता दिन नसकिने, मंगलबार संसदबाट संविधान संशोधन विधेयक अहिलेकै अवस्थामा पारित गर्नुपर्ने अडान लिएको थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले मोर्चाको माग सहमति गर्नेभन्दा नगर्ने नियतले आउन खोजेको हो कि भनी सन्देह गरेपछि कांग्रेस नेताहरुले आशंका नगर्न सम्झाएको उच्च स्रोतले जानकारी दियो ।

मोर्चाका तर्फबाट कार्यदल सदस्यले आइतबार साँझको सिंहदरबार वार्तामा छ बुँदे प्रस्ताव तीन दलीय कार्यदल टोलीलाई बुझाएका थिए ।

प्रस्तावित संयन्त्रलाई संविधानको अनुसूची नम्बर १० मा राख्न भने तीनै दलले अस्वीकार गरेका छन् । बैठक स्रोतका अनुसार अहिल्यै संविधानका धारा उपधारा चलाउन नहुनेमा तीनै दलको एक मत छ ।

तीन दल बैठक सकिनेबित्तिकै बालुवाटारमा सोमबार राति एक घण्टा चलेको तीन दल-मोर्चा कार्यदल बैठक झन् तनावपूर्ण बन्यो ।

बैठकको सुरुमा तीन दलका तर्फबाट कांग्रेस नेता महेश आचार्यले मोर्चाका मागबारे तीन दलीय शीर्ष नेतृत्वको निष्कर्ष सुनाउँदै तत्काल संविधान संशोधनमार्फत् सबै माग पूरा गर्न नसकिने, भाषा परिमार्जन गरेर सम्झौता भने गर्न सकिने बताएपछि मोर्चा नेताहरु आक्रोशित भएका थिए ।

सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधनमार्फत् मधेस आन्दोलनको अवतरण गराउन तीन ठूला दल अनिच्छुक भएको आरोप लगाउँदै अब कार्यदल वार्तामा आफूहरु नबस्ने चेतावनी दिए ।