काठमाडौं- नयाँ संविधानले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकताबाट वञ्चित गरेको प्रचार तराई–मधेसमा भइरहेका बेला दोस्रो संविधानसभामा मात्रै कम्तीमा १२ अंगीकृत सभासद रहेको तथ्य देखिएको छ ।
यी सबै सभासद संविधानसभाको समापनसँगै स्वत: रूपान्तरित भएर बनेको व्यवस्थापिका संसदको सदस्यका रूपमा देशको सर्वोच्च विधायिकी अंगमा बहाल छन् ।
दोस्रो संविधानसभा (हालको संसद्) मा बहाल रहेका ५ सय ९७ सभासदमध्ये कम्तीमा १२ जना वैवाहिक अंगीकृत नागरिकता प्राप्त देखिएको हो । उनीहरू सबै नेपाली पुरुषसँग बिहे गरेका भारतीय चेली रहेको तत्कालीन संविधानसभा सचिवालय (हालको संसद् सचिवालय) को अभिलेखमा उल्लेख छ । तत्कालीन सभासदहरूले भरेको वैयक्तिक विवरणअनुसार एक दर्जन सभासदले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको देखिन्छ ।
अंगीकृत सभासदमध्ये संविधान निर्माण प्रक्रियाको अगुवाइ गरेका कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र नेकपा (संयुक्त) का ६ सभासदले संविधानको सक्कल प्रतिमा हस्ताक्षर गरेका छन् । संविधानको सक्कल प्रतिमा हस्ताक्षर नगरेका ६ मध्येका दुई सभासद संविधान निर्माणपछिको पहिलो सरकारमा सहभागी फोरम लोकतान्त्रिकका हुन् ।
बाँकी चारजनामा संविधान निर्माणसँग असन्तुष्ट संघीय समाजवादी फोरम र नेपाल सद्भावना पार्टी (अनिल झा नेतृत्वको) एक/एक र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका दुई सभासद हुन् । अंगीकृतमध्ये प्रत्यक्ष निर्वाचनमा विजयी कांग्रेसकी सीतादेवी यादव (सिरहा ३) र एमालेकी नेजमा आलम (बारा ४) छन् ।
बाँकी सबै अंगीकृत सांसदहरू सम्बन्धित दलले देशभरि प्राप्त गरेको समानुपातिक मतको कोटाबाट संविधानसभामा प्रवेश पाएका हुन् ।
नेपालले आधारभूत रूपमा वंशजका आधारमा नागरिकता दिने अभ्यास गरे पनि नेपाली नागरिकसँग विवाह गरी नेपालमै बसोबास गर्न आउने विदेशी बुहारीलाई सहजै अंगीकृत नागरिकता दिइन्छ ।
आशा चतुर्वेदी, पर्सा, फोरम लोकतान्त्रिक
उषा यादव, सिरहा, संघीय समाजवादी फोरम
डिम्पलकुमारी झा, रौतहट, सद्भावना पार्टी नेपाल (अनिल झा नेतृत्वको)
नेजमा आलम, बारा, एमाले
फूलझरी देवी, पर्सा, एमाओवादी
माधवीरानी साह, धनुषा, सद्भावना (राजेन्द्र महतो नेतृत्वको)
मिथिला चौधरी, सप्तरी, नेकपा संयुक्त
रमणि राम, सप्तरी, फोरम लोकतान्त्रिक
राज्यलक्ष्मी गोल्छा, मोरङ, एमाले
राजेश्वरी देवी, सर्लाही, राप्रपा नेपाल
शैलकुमारी देवी, सर्लाही, सद्भावना (राजेन्द्र महतो नेतृत्वको)
सीतादेवी यादव, सिरहा, कांग्रेस
स्रोत : संसद् सचिवालयको अभिलेख






