काठमाडौं- अरुबेला सुनसान हुने कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले भीडभाड छ ।
क्रियाशील सदस्यता विवादमा थुप्रै जिल्ला समितिहरुले रिले अनसन गरिरहेका छन् । यहीबीचमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आसन्न १३ औं महाधिवेशनका एजेन्डामाथि छलफल भएको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । यसअघि शुक्रवारका लागि बैठक बोलाइएपछि नेताहरु व्यस्त भएको भन्दै आजलाई सारिएको थियो । बैठकमा महाधिवेशनका लागि गठित विभिन्न समितिले बुझाएका प्रतिवेदनमाथि छलफल भएको छ ।
तर सबैभन्दा बढी क्रियाशील सदस्य विवाद समितिले पेश गरेको प्रतिवेदनमाथि नै छलफल भएको छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशील सदस्यता, विधान संशोधनलगायतका विषयमा नेताहरुबीच विवाद बढेको छ ।
खासगरी आगामी महाधिवेशनमा नेतृत्व हत्याउने कसरतमा रहेका संस्थापन र देउवा पक्षबीच विवाद चर्केको हो । महाधिवेशन आउन ५५ दिन मात्र बाँकी हुँदासम्म पनि पार्टीमा क्रियाशील सदस्यताको विवाद नटुंगिएको छैन ।
नेतृत्व कब्जा गर्न विभिन्न जिल्लामा आफूनुकूल क्रियाशील सदस्यता वितरण गरिँदा कांग्रेसमा महाधिवेशनको मुखमा सधै नै यसैगरी विवाद हुने गरेको छ ।
कांग्रेस बैठकभित्र र बाहिरका तीन तस्बिर यस्ता छन्-









