गगन, विश्वप्रकाश र प्रदीप मध्ये काँग्रेस महामन्त्री को बन्लान् ?

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

तीन युवासहित ६ नेता महामन्त्रीका लागि प्रतिस्पर्धामा छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) देखि सहकार्य गर्दै आएका युवा नेतात्रय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल महामन्त्रीका प्रतिस्पर्धी हुन्। तीन फरक समूहबाट उनीहरू महामन्त्रीको उम्मेदवार बनेका छन्।

देउवा समूहबाट प्रदीप, शेखरबाट गगन र सिंहबाट विश्व महामन्त्रीको उम्मेदवार बनेका हुन्। उनीहरूसँगै अघिल्ला पुस्ताका तीन डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की पनि महामन्त्रीकै प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धामा रहेका ६ उम्मेदवार मध्य गगन र विश्व महाधिवेशन प्रतिनिधिमाझ लोकप्रिय देखिएका छन्। उनीहरूको तुलनामा प्रदीप केही कमजोर देखिएका छन्। तर, सिटौला हुँदै देउवा समूहमा जोडिएका प्रदीप गुटगत समीकरणका दृष्टिले भने सबैभन्दा बलिया देखिन्छन्।

प्रदीपसँगै देउवा समूहबाट महत पनि महामन्त्रीको उम्मेदवार बनेका छन्। देउवा समूहभित्र महामन्त्रीको उम्मेदवारका आकांक्षीको असन्तुष्टि मतमा प्रकट भएन भने गगन र विश्वको अवस्था मजबुत रहेको निकटहरूको बुझाइ छ।

सडकदेखि संसद्सम्म पार्टीदेखि सरकारसम्म आफ्नो भूमिका देखाइसकेका गगनलाई पार्टीको महामन्त्रीमा ल्याउनैपर्ने मत सबैखाले महाधिवेशन प्रतिनिधिमा देखिएको छ। तर,गगनसँग पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रुष्ट छन्।

१३औं महाधिवेशनमा सिटौलासँग जोडिएर थापा महामन्त्रीको प्रत्यासी बनेका थिए। स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा आफ्नो कोटाबाट पुगेका गगनले आफूलाई बीचमै छाडेर संस्थापन इतर पक्षमा लागेको भन्दै सिटौलाले चित्त दुखाएका छन्।

प्रक्षेपणले भन्छ गगन र विश्वप्रकाश

कांग्रेसको निर्वाचनलाई लिएर फ्याक्ट्स रिसर्च एन्ड एनालाइसीसले एक अनुसन्धान गरेको थियो ।

उक्त कम्पनीले गरेको एक्जिट पोललाई विश्वास गर्ने हो भने महामन्त्रीको दौडमा गगन र विश्वप्रकाश अरुभन्दा अगाडि छन् । यही एक्जिट पोलले सभापतिमा गरेको प्रक्षेपण निकै हदसम्म सही सावित भएकाले पदाधिकारीको प्रक्षेपणलाई पनि नजरअन्दाज गर्न सकिन्न ।

सर्वेक्षणअनुसार महामन्त्रीमा गगन ४५ प्रतिशत मतका साथ पहिलो र विश्वप्रकाश २९ मतका साथ दोस्रो स्थानमा आउने छन् । प्रदीप, प्रकाशरण र मिनेन्द्र क्रमश तेस्रो, चौथो र पाचौं हुने प्रक्षेपण गरिएको छ ।

महाधिवेशनमा सहभागी २१४८ प्रतिनिधिहरुमाथि सो सर्वेक्षण गरिएको फ्याक्ट्स नेपालको दावी छ ।