लण्डन — CAN International को आयोजनामा भूतपूर्व गोर्खा तथा उनीहरूका परिवारका वरिष्ठ नागरिकहरूका लागि एकदिने समुद्री भ्रमण (सी–साइड ट्रिप) सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक सहभागिता अभिवृद्धि गर्नुका साथै वरिष्ठ नागरिकहरूको स्वास्थ्य र मानसिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
१६ अगस्ट २०२६ मा सम्पन्न भएको यस विशेष भ्रमण पश्चिम लण्डन गोरखा हबद्वारा सञ्चालन गरिएको थियो। सहभागीहरू साउथ ह्यारोबाट “न्यु भारत” कोचमार्फत प्रस्थान गरी फोक्स्टोनस्थित मर्मेड बीच पुगेका थिए। समुद्र किनारमा पुगेपछि सहभागीहरूले नाचगान, भेटघाट तथा रमाइलो गर्दै दिनभरि मनोरञ्जन गरेका थिए।
कोच यात्राकै क्रममा चर्चित गायिका बिमता घर्तीमगर र गायिका सुजाता काफ्लेको दोहोरी प्रस्तुतिले वातावरण झनै उत्साहपूर्ण बनेको थियो। डेभिड गुरुङसहित सहभागीहरूले संगीतमा साथ दिँदै नाचगान गरी यात्रा रमाइलो बनाएका थिए।
कार्यक्रमको प्रायोजन CAN International ले गरेको हो भने सहभागीहरू जुटाउने तथा व्यवस्थापनको जिम्मेवारी एनआरएन यूकेका प्रमुख संरक्षक भूतपूर्व गोर्खा तथा समाजसेवी डेविड गुरुङले सम्हालेका थिए। उनका अनुसार कार्यक्रम विशेषगरी भूतपूर्व सैनिकहरू र उनीहरूका परिवारलाई लक्षित गरी आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याप्टेन इन्द्र गुरुङ उपस्थित थिए। त्यसैगरी अन्य अतिथिहरूमा बुद्धि जीबी इन्जिनियर आर. के. त्रिपाठी,कर्ण दर्लामी, भरत रोका लगायत आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
CAN International UK का प्रमुख डा. बलराम ढकालका अनुसार उक्त समुद्री भ्रमण पूर्ण रूपमा निःशुल्क रूपमा आयोजना गरिएको थियो। उनले सहभागीहरूले समुद्र किनारमा एक दिन बिताउँदै आपसी सम्बन्ध सुदृढ गर्नुका साथै मानसिक विश्राम लिएको बताए।
उनका अनुसार यस्ता कार्यक्रमहरूले भूतपूर्व सैनिकहरूबीच आपसी सम्बन्ध अझ मजबुत बनाउनुका साथै उनीहरूको स्वास्थ्य र खुशीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।







