काठमाडौँ- समान हैसियत भएका एक सांसदले राज्यबाट सवारी तथा सुरक्षाकर्मीको सुविधा पाउने र अन्य सांसदहरुले भने कुनै सुविधा नपाएको भन्दै केही सांसदको आपत्ति रहेको छ ।
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह राज्यको कुन हैसियतमा रहेका व्यक्ति हुन् र उनले कुन आधारमा सुविधा पाएको हो भन्दै सोही पार्टीका सांसदहरुले आपत्ति जनाउनुभएको हो ।
व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको आजको बैठकमा काँग्रेसका सांसद रामहरि खतिवडाले पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलाई राज्यले सुविधा दिनु एक हिसाबले जायज देखिए पनि आफू जस्तै समान हैसियत भएका सिंहले किन सुविधा पाएका हुन् यसबारेमा सरकारले सत्यतथ्य जानकारी गराउनुपर्ने बताउनुभयो ।
गृह मन्त्रालयले पूर्वपदाधिकारी तथा विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएको सुविधाका बारेमा उपलब्ध गराएको विवरण प्रभावकारी र यथार्थको नजिक नभएको भन्दै सांसदहरुले आपत्ति जनाउनुभएको हो ।






