अबदेखि दैनिक १२ घन्टा विद्युत् कटौती

loads

काठमाडौँ- नदीमा जलप्रवाह घटेको र विद्युतमा निर्भरता बढ्दै गएको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय बढाएको छ ।

प्राधिकरणका अनुसार सोमबारबाट लागू हुनेगरी नयाँ तालिका सार्वजनिक गरेको छ । पछिल्लो तालिकाअनुसार सोमबारबाट दैनिक १२ घन्टा विद्युत् कटौती हुनेछ । यसअघि दैनिक ११ घन्टा विद्युतभार कटौती हुँदै आएको थियो ।

प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भूवनकुमार खत्रीले नदीमा जलप्रवाह घट्दा विद्युत् उत्पादनमा कमी आएको र विद्युतको माग अत्यधिक बढेका कारण विद्युत्भार कटौतीको समय बढ्न गएको हो ।

उहाँले हाल मुलुकभर एक हजार २७५ मेगावाट विद्युतको माग रहेकामा सञ्चालनमा रहेका आयोजनाबाट ३१० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ । भारतबाट २३५ मेगावाट विद्युत् आयात भइरहेको छ । केन्द्रीय प्रणालीमा ७२० मेगावाट विद्युत् अपुग हुँदै आएको छ ।

मुलुकभर सञ्चालनमा रहेका अधिकांश आयोजना नदी प्रवाहमा आधारित छन् । प्राधिकरणको जलाशयुक्त आयोजनाका रुपमा रहेको कुलेखानी प्रथम ६० मेगावाट र ३२ मेगावाटको कुलेखानी दोस्रो भने सञ्चालनमा ल्याएको छैन ।