लण्डनमा ‘पृथ्वी जयन्ती’ मनाइंदै

prithinarayan

लण्डन । स्वर्गीय श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आगामी ११ जनवरी २०१६ (सोमबार ) का दिन संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले एक विशेष कार्यक्रमको आयोजना गरी लण्डनमा मनाउने भएको छ ।

लण्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टको सभाहलमा मध्यान्ह साढे १२ बजे कार्यक्रम सुरु हुने संगठनका अध्यक्ष भरत क्षेत्रीले बताएका छन । उक्त कार्यक्रममा प्रमुख अतिथी बुद्धिजिबी डा राघव धिताल , यहांको नेपाली समुदायका बुद्धिजिवी, प्राज्ञ, विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधी लगायत सहभागी हुनेछन ।

संगठनले कार्यक्रममा सहभागिता जनाइदिन बेलायतस्थित सामाजिक र जातीय संघसंस्थाका प्रतिनिधि एवं अन्य प्रवुद्ध वर्गमा अनुरोध समेत गरेको छ । नेपालमा लोकतन्त्रपछि पृथ्वी जयन्ती मनाउने परम्परा विलिन हुंदै गएपनि संस्थाले लन्डनमा सन् २०१० देखि वर्षेनी मनाउंदै आएको छ । नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको एकताको सन्देश अझै सान्दर्भिक हुने विश्वास आयोजकलाई छ ।