लण्डन । बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएका एक नेपाली व्यवसायी रविजंग लामिछानेले नवलपरासीस्थित मौलाकालिका मन्दिरलाई २० लाख रुपिया बराबरको आर्थिक सहयोग प्रदान गरेका छन ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको मौलाकालिका मन्दिरमा पर्यटकीय आकर्षण तथा भक्तजनहरुको सुविधा बढाउने उद्धेश्यले लामिछानेले सो सहयोग गरेका हुन । आफनो पिताको स्मृतिमा त्यहांस्थित रविचन्द्र भोजनालयलाई १० लाख, स्वस्थ खानेपानी व्यवस्थापनको लागि १० लाख र मन्दिरको गेटको भौतिक निर्माणका लागि ५० हजार रुपिया प्रदान गरेका हुन ।
सनातन धर्मको रक्षा होस भन्ने उद्धेश्यले आफुले सो सहयोग प्रदान गरेको उनले बताएका छन । यसअघि १ वर्ष पहिले लामिछानेले नै सहयोग गरेको १० लाख रुपियाबाट त्यहां खानेपानीको चौमुखे धारा पनि सञ्चालनमा आएको छ ।
पर्वतको तिलाहारमा जन्मिएर बेलायतमा गार्मेन्ट तथा फेसन व्यवसायमा संलग्न लामिछानेले सामाजिक कामहरुमा सधै अग्रसरता देखाउने गरेका छन । हालसालैको महाभुकम्पपछि उनले राहत कोषमा आफनो व्यक्तिगत तर्फबाटै ५१ लाख रुपिया बढिको सहयोग प्रदान गर्नुका साथै ठूलो परिमाणमा कम्बल, झुल , लत्ताकपडा लगायतका भौतिक सहयोग पनि वितरण गरेका थिए । एक वर्षअघि सिन्धुपाल्चोकको जुरेमा पहिरो पीडितहरुको सहयोगमा उनले साढे ५ लाख सहयोग समेत गरेका थिए ।
लामिछानेले आफना पिताको स्मृतिमा सन् २०१२ मा काठमाडौंको धुम्बाराहीमा एक करोड ६० लाख रुपियाको लगानीमा चन्द्रेश्वर महादेव मन्दिरको स्थापना गराएका थिए । उनको परिवार समेत सामाजिक कामहरुमा सक्रिय रहने गरेको छ । जसकै फलस्वरुप उनकी माता रुक्मिणा लामिछानेले राष्ट्रपतिबाट जनसेवाश्री पदक प्राप्त गरेकी थिइन ।
हालसालै रविचन्द्र ट्रस्ट स्थापना गरी लामिछानेले पर्वत जिल्लाका कम्तीमा ४० जना अनाथ, अशक्त तथा कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई बोर्डिंग स्कुलहरुमा निशुल्क शिक्षा प्रदान गरिरहेका छन ।







