चौतारा- वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटाले ९० प्रतिशतभन्दा बढीको समर्थनमा बनाइएको वर्तमान संविधानले सबै वर्गलाई समेटेको दाबी गर्नुभएको छ ।
‘जनताको संविधान जनताकै माझमा’ नेपालको संविधान, २०७२ राष्ट्रव्यापी प्रचार अभियानअन्तर्गत सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा मन्त्री सापकोटाले मधेसका जनता राष्ट्रवादी भएको र केही व्यक्तिको भड्काउमा त्यहाँका जनता आन्दोलनमा लागेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – संविधानको व्याख्या गरी आम मधेसीको भ्रम चिरेर यथार्थताको बोध गराउन अत्यावश्यक भइसकेको छ ।
मन्त्री सापकोटाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकतालाई कायम गर्न चित्त नबुझ्दा नबुझ्दै पनि राष्ट्रको रक्षार्थ मन्त्रालयको सङ्ख्या वृद्धि गर्नुपर्ने बाध्यता आइपरेको स्पष्ट पार्नुभयो ।






