काठमाडौँ- एमाले–माओवादीले लाखौँ जनता बीच पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् ।
एकता संयोजन समितिको बिहीबारको बैठकले ९ वैशाखमा हुने घोषणासभामा लाखौँको उपस्थिति गराउने गरी गृहकार्यमा लाग्ने निर्णय गरेको छ । एकताको माहोल व्यापक बनाउन दुवै पार्टीले कार्यकर्तास्तर सम्म सर्कुलर गर्ने भएका छन् ।
एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लाखौँ नेता–कार्यकर्ता बीच पार्टी एकताको तयारी भइरहेको बताए । तर एकता सभाका लागि ठाउँ र समय भने तय भइनसकेको उनले बताए । ‘हामी कम्तीमा ५ लाख जनताको उपस्थितिमा महाधिवेशन घोषणा सभा जस्तै गरेर पार्टीको एकता सभा गर्दै छौँ,’ एमाले उपमहासचिव विष्णु पौडेलले भने ।
माओवादी अध्यक्ष प्रचण्डले पनि एकता घोषणा सभा बृहत जनताका बीचमा गरिने बताए । चुनाव चिह्न र सांगठनिक प्रतिनिधित्वको विषय प्रधानमन्त्री भारतबाट फर्किए लगत्तै टुंगो लाग्ने प्रचण्डको दाबी छ ।






