लन्डन। नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले क्यान्सर रोग सम्वन्धि सचेतनामूलक वेबिनार गर्ने तयारी गरेको छ ।
आउंदो ३० नोभेम्बर, आइतबार बिहान १० देखि १२.३० बजेसम्म कार्यक्रम तय गरिएको हो ।
संस्थाले केही महिनादेखि राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) संगको सहकार्यमा क्यान्सरबारे जनचेतना जगाउने भावना राखी विशेष वेबिनार गर्न लागिएको जनाएको छ ।
कार्यक्रमको उद्देश्य क्यान्सर लाग्ने विभिन्न कारण, यसका लक्षणहरु, प्रारम्भिक परिक्षण र उपचारको महत्त्व, रोकथामका लागि जीवनशैलीमा ल्याउन सकिने आवश्यक परिवर्तन आदिबारे सचेतना जगाउनु रहेको संस्थाको भनाइ छ ।
कार्यक्रममा प्रमुख वक्ताहरु डा. प्रज्ञा खनाल (क्लिनिकल अन्कोलोजिष्ट एनएचएस), सुनिता बोहोरा कार्की (हेड अफ नेक क्यान्सर युनिट एनएचएस), रजिष्टर्ड नर्स एवं क्यान्सर रिसर्च यूकेबाट प्रशिक्षित म्याटरनिटी कम्युनिटी म्याट्रोन सृजना कोइराला तथा केयर होम सञ्चालक एवं क्यान्सर रिसर्च यूकेबाट तालिमप्राप्त हेल्थ केयर विज्ञ प्रभु न्यौपाने रहनेछन् ।
उक्त कार्यक्रममा स्वास्थ्य विशेषज्ञहरूसँग अन्तरक्रिया साथै क्यान्सर रोग जितेका दुई व्यक्तिका अनुभव र क्यन्सरविरुद्ध उनीहरुले भोग्नु परेको संघर्षबारे प्रेरणादायी प्रस्तुति हुने एनबीसी यूके संयोजक समीरनाथ प्याकुरेलले जनाए । उनले कार्यक्रममा सहभागी भएर लाभ लिन समेत अनुरोध गरेका छन्
।एनबिसी यूके विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुँदै आएको छ ।बेलायतमा च्यारिटीको रुपमा दर्ता भएको यस संस्थाले नेपालीहरुको हकहित र समुदायको उत्थानको निम्ती निरन्तररुपमा काम गर्दै आएको छ ।कार्यक्रममा सहभागी बन्न यस लिंक मार्फत नाम दर्ता गर्न अनुरोध गरिएको छ ।






