लण्डन । साउथ ईस्ट लण्डनको चार्ल्टनस्थित चार्ल्टन नेपाली समाजको वार्षिक समर कार्यक्रम यही आउँदो आइतबार जुलाई २१ मा आयोजना हुंदैछ । कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गर्ने समाजका सचिव प्रकाश कँडेलले जानकारी दिए ।
विगतका वर्षमा जस्तै मेरिडियन स्पोर्ट क्लबको खुला मैदानमा आयोजना हुने कार्यक्रममा चर्चित लोकदोहोरी गायक कुलेन्द्र विक र गायिका सुनितामी परियार मुख्य आकर्षण रहने भएका छन् । समाजका अध्यक्ष कृष्ण खरेलका अनुसार कार्यक्रममा उनीहरुको प्रस्तुतिबाहेक अन्य विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि देखाइनेछ ।

मध्यान्ह १२ देखि सांझ ८ बजेसम्म चल्ने कार्यक्रममा स्थानीय भलिबल समुहहरुबीच प्रतियोगिता समेत सञ्चालन गरिंदैछ ।भलिबल खेलका लागि समाजका पूर्व अध्यक्ष रोमनाथ पाण्डेले सहयोग स्पोन्सर गरेका छन् । त्यस्तै, कार्यक्रमको टिकट छपाईका लागि सुजन कटुवालले सहयोग गरेका छन् । समाजले प्रवेश शुल्क वयस्कलाई १३ र बालबालिकाका लागि ७ पाउन्ड तोकेको छ । साउन्ड सिस्टममा बेलायतमा चर्चित हेम विष्ट रहने छन् ।

साउथ ईस्टबासी सम्पुर्ण नेपालीहरु एकआपसमा भेटघाट गरी रमाइलो गर्ने अवसर दिलाउनु कार्यक्रमको प्रमुख लक्ष्य रहेको अध्यक्ष खरेल बताउँछन् । कार्यक्रममा सहभागिताका लागि सबै नेपालीहरुलाई समाजले आग्रह गरेको छ । खाना माउन्टेभ्यु रेस्टुरेन्टका दासु पाण्डेले व्यवस्थापन गरेका छन् । कार्यक्रमलाई लन्डन नेपाल न्यूजले प्रत्यक्ष प्रशारण गर्ने बताइएको छ ।






