पाल्पा– कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान जारी भएकाले नेपाली कांग्रेस पनि परिवर्तन र गतिशील हुनुपर्ने बताएका छन् ।
प्रेस युनियन पाल्पाले सोमबार बिहान गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले कांग्रेसमा भागबन्डाका आधारमा राजनीति हुँदै आएकामा अब पार्टी मूल्याङ्कनका आधारमा चल्नुपर्ने धारणा राखे । उनले कांग्रेसले नीतिगत बहस हुन जरुरी रहेको र बदलिएर देशलाई बदल्नुपर्ने बताए ।
उपसभापति पौडेलले संविधान जारी गर्ने पक्ष र मधेसी दलहरुबीच समस्या समधान गर्ने विषयमा राजनीतिक तहमा छलफल भइ रहेको उल्लेख गरे । कांग्रेसको १३औँ महाधिवेशन नजिकै आउँदै गरेको अवस्थामा नेता पौडेल संविधान, सद्भाव अभियानसँगै चुनावी प्रचारमा जिल्ला भ्रमण छन् ।






