संविधानसभा भित्र रहेका १९ र संविधानसभा बाहिर रहेका ११ दलले विगतमा भएका सहमति र सम्झौताहरूलाई अक्षरशः पालना हुने गरी संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले सडक आन्दोलनको तयारी सुरु गरेको छ ।
नेपाः राष्ट्रिय पार्टीको संयोजनमा भएको ३० दलीय गठबन्धनको बैठकले यही पुस १९ गते ७५ वटै जिल्लामा जुलुस र सभा गर्ने निर्णय गरेको ३० दलीय गठबन्धनका काठमाडौँ जिल्ला संयोजक नरेशवीर शाक्यले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार विगतमा गरिएका सहमति र सम्झौताहरूको पालना गर्न लगाउन, मुलुकलाई द्वन्द्व र मुठभेडतिर होइन सहमतितिर डो¥याउन र अग्रगमनका एजेन्डालाई स्वीकार गर्न लगाउन तथा संविधानसभाबाटै पहिचान र अधिकारलाई सुनिश्चित गर्ने संविधान घोषणा गर्न लगाउन बाध्य पार्न सडक आन्दोलनको तयारी सुरु गरिएको हो ।
तीस दलका नेता, कार्यकर्ता र पहिचान पक्षधरहरू सो दिन भृकुटीमण्डपमा भेला भई बृहत् जुलुस प्रर्दशन गर्दै सहर परिक्रमा गर्ने र शान्ति बाटिकामा कोणसभा गर्ने कार्यक्रम रहेको छ । आन्दोलनलाई सफल पार्न नेपाः राष्ट्रिय पार्टीका सङ्गठन प्रमुख शाक्यको संयोजकत्वमा १५ सदस्यीय काठमाडौँ जिल्ला समन्वय समिति पनि गठन गरिएको छ ।
३० दलद्वारा आन्दोलनको घोषणा






