काठमाडौं- उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा चीन भ्रमणमा गएका छन् । उनी केही दिनअघिमात्रै लन्डनबाट फर्किएका थिए ।
चिनियाँ समकक्षी बाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार अपराह्न चीनको छ दिवसीय औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरे ।
थाइल्याण्डको राजधानी बैँकक हुँदै चीनको राजधानीतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चीनसँगको पारस्परिक सम्बन्ध सुदृढीकरणका साथै खुला व्यापार एवम् इन्धन आयात गर्नेबारेमा प्राथमिकताका साथ चिनियाँ उच्च नेतृत्वसँग छलफल गर्ने बताए ।
भ्रमणामा थापासँगै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेल, परराष्ट्र, अर्थ, र वाणिज्य मन्त्रालयका सचिवका साथै परराष्ट्र, कानुन, न्याय तथा संसदीय व्यवस्था र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारी छन् ।






