भूकम्पपीडितका लागि कपडा बुन्दै बेलायती आमा

  • विजय देवकोटा

uk motherकाठमाडौं- भूकम्पपीडित नागरिकको व्यवस्थापनमा सरकार उदासीन देखिएका बेला बेलायतका वृद्ध आमाहरू पीडितलाई न्याना लुगा बुन्ने अभियानमा जुटेका छन् ।

च्रिज क्याटोन ग्रिएज्ली निर्देशक रहेको ‘शक्ति मेलोडी’ नामक संस्थामार्फत ऊनीका लुगा बुनिरहेका यी आमाहरूले अहिलेसम्म झन्डै सय थान हातबुना ब्ल्यांकेट तयार गरिसकेका छन् । साथै, नेपालमै कपडा किनेर वितरण गर्न करिब ११ लाख रुपैयाँ (७ हजार पाउन्ड) समेत जुटाएका छन् । झन्डै ४ महिनाअघिदेखि नेपालीका लागि कपडा बुन्न सक्रिय यो आमा समूहले हातबुना स्विटर, ब्ल्यांकेटजस्ता कपडा बनाइरहेका छन् ।

“भूकम्पलगत्तै सञ्चारमाध्यमबाट हामीले पीडित नागरिकको अवस्था देखेपछि कपडा व्यवस्थापनको काम थालेका हौं,” संस्थाकी निर्देशक ग्रिएज्ली भन्छिन्, “हामी वृद्धहरूको सानो मेहनतले भूकम्पप्रभावित क्षेत्रका साना नानीहरूले न्यानो महसुस गर्नेछन् ।” आउँदो सातासम्म संस्थाले पीडितसमक्ष राहत उपलब्ध गराउने जानकारी उनले दिइन् । सहायता अभियानलाई सन् २०१६ मा समेत निरन्तरता दिइने र प्रभावितमध्येका केही जिल्लाबासीलाई न्यानो कपडा दिलाउने यो संस्थाले जनाएको छ ।

यो समूहले संस्थामार्फत यसअघि भारतका प्रभावित नागरिकलाई कपडा तयार गरी वितरण गरिरहेको थियो । वैशाखको भूकम्पलगत्तै नयाँदिल्लीबाट उद्धार तथा राहतका लागि नेपाल आएका सहायताकर्मी अनिल महतोले नेपालको अवस्था झनै भयावह रहेको जानकारी दिँदै भूकम्पप्रभावित बालबालिकाका लागि कपडाको व्यवस्था गरिदिन आग्रह गरेका थिए । त्यसलगत्तै आमा समूहले यो काम थालेको हो ।

स्टेलिब्रिजस्थित म्युजिक कर्नरमा हरेक १५ दिनमा जम्मा हुने आमाहरूको हातमा ऊनी धागोका डल्ला र कुरुस सल्लबलाइरहेका हुन्छन् । उनीहरूको यो कामबाट झन्डै १ हजार नागरिकले केही साताभित्रै न्यानो महसुस गर्नेछन् ।

“सहयोग गर्न चाहनुहुन्छ भने ऊन, सियो, धागो र हुक्सजस्ता सामान वा सिंगो ब्ल्यांकेट म्युजिक कर्नरमा पठाइदिनुहोला,” संस्थाको वेबसाइटमा इच्छुक दातालाई आग्रह गर्दै सूचना लेखिएको कारोबार दैनिकले समाचार लेखेको छ ।

बेलायतमा तयार भएका कपडाका साथै नेपालमै पीडितका लागि थप न्याना ओढ्ने कपडा खरिद गर्न संस्थाले दातालाई सहयोगको आग्रह गरिरहेको छ । यी आमाहरूको समूहले संस्थामार्फत भूकम्पलगत्तै झन्डै ३ लाख रुपैयाँबराबरका खाद्यान्न र अस्थायी आवासमा सहयोग गरिसकेको छ ।